Thursday, May 14, 2015

-जतिबेला पनि जमिन हल्लाइरहेझैं भान पर्छ, मन छटपटाइरहन्छ ? किन यस्तो हुन्छ ? कसरी मुक्ति पाउने यसबाट?



काठमाडौं- जतिबेला पनि जमिन हल्लाइरहेझैं भान पर्छ । टेलिभिजनमा देखिने भग्नावशेष, भागदौड, घाइते र शवका दृश्यले मन छटपटाइरहन्छ । न राम्ररी निदाउन सकिन्छ न सामान्य दैनिकीमै फर्किन। किन यस्तो हुन्छ ? कसरी मुक्ति पाउने यसबाट?
वैशाख १२ को भूकम्प र त्यसपछि शृंखलाबद्ध रूपमा आएका पराकम्पनले सर्वसाधारणलाई यस्तै अनुभूति गराइरहेको छ । विशेषज्ञहरू भन्छन्– अधिकांशमा समयक्रमसँगै हराएर जाने यो समस्यालाई सही ढंगले व्यवस्थापन गर्न सकिएन भने त्यसले मानसिक समस्याको रूप पनि लिने गर्छ ।
अस्पतालका शड्ढयामा उपचाररत घाइते हुन् या मनोरोग विशेषज्ञका क्लिनिक, सबैतिर यस्तै समस्याले आक्रान्तको भिड बढ्दै गएको छ । विशेषज्ञहरूले भूकम्पपछि उत्पन्न यो मनोसमस्या निदान गरी मानसिक रोगको अवस्थासम्म पुग्न नदिनेतर्फ सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
बढी तनाव लिएर बस्दा शरीररले बढी ‘स्ट्रेस हर्मोन’ रिलिज गर्ने र यस्तो हर्मन बढी रिजिल भए उच्च रक्तचाप, मिर्गौला, मुटु र मस्तिष्क तन्तुमा समेत असर पार्नसक्ने जोखिम रहेको चिकित्सक बताउँछन् ।
त्रिवि शिक्षण अस्पताल, मनोरोग विभाग प्रमुख डा. सरोज ओझाले महाभूकम्पजस्ता महाविपत्तिपछि मनोविमर्श उपचार अघि बढाउनुपर्ने बताए ।
चिकित्सकका अनुसार यस्ता गम्भीर खालका महाविपत्तिपछि धेरैजसो माानिसमा सुरु चरणमा ‘एक्टिभ स्टेज’ हुन्छ । भूकम्प आइरहेजस्तो लाग्ने, आउला आउला जस्तो लाग्ने र तिनै घटनालाई सम्झिरहने अवस्था ‘एक्टिभ स्टेज’ हो ।
‘बिरामीलाई मनोपरामर्श दिन सकिएन भने भयावह किसिमका मानसिक समस्या र आत्महत्यासम्मको अवस्था आउन सक्छ,’ उनले बुधबार भने । पछिल्ला दिनमा अस्पतालमा उपचार गराइरहेका घाइतेदेखि मनोरोग विशेषज्ञका क्लिनिक एवं अस्पतालमा यस्ता मनोसमस्या निराकरणको विकल्प खोज्नेहरूको संख्या बढ्न थालेको छ । ‘अहिले नै क्लिनिक तथा ओपिडीमा आउने आधाभन्दा बढी बिरामी भूकम्पपछि सिर्जित मनोसामाजिक समस्याका छन्,’ डा. ओझाले भने ।
उनले समयमै यसको व्यवस्थापनका लागि बृहत योजनासहित अगाडि बढेर मानिसलाई सामान्य अवस्थामा फर्काउने र गम्भीर खालका मानसिक समस्यामा जाने अवस्थाबाट बचाउन बृहत कार्यक्रम आवश्यक पर्ने बताएका छन् ।
राम्रो कार्यक्रम सञ्चालन गर्दा भूकम्पपछि जापानमा २० प्रतिशत मात्रै यस्तो मनोरोगको अवस्थामा पुगेका थिए भने हाइटीमा ६० प्रतिशत पीडित एवं प्रभावितहरू मनोरोगको समस्याले ग्रसित भएका थिए ।
चिकित्सकका अनुसार यस्ता गम्भीर खालका महाविपत्तिपछि धेरैजसो माानिसमा सुरु चरणमा ‘एक्टिभ स्टेज’ हुन्छ । भूकम्प आइरहेजस्तो लाग्ने, आउला आउला जस्तो लाग्ने र तिनै घटनालाई सम्झिरहने अवस्था ‘एक्टिभ स्टेज’ हो । सामान्यतया पहिलो धक्का आएपछि पराकम्पन नआएको भए यो अवस्था तीन दिनमै साम्य भएर जानुपर्ने थियो । तर कहिलेकाहीँ पराकम्पन सकिएको दुई सातासम्म रहने अनुमान चिकित्सकहरूको छ ।
त्यसपछिको अवस्थामा मानिस अर्को खालको समस्याको चरणमा पुग्छन् । त्यस्तो अवस्थामा कम्पन कम भएर काममा फर्किएपछि पनि भूकम्पले गराएका क्षति बारम्बार सम्झिने र स्विकार्न गाह्रो पर्छ । ‘बसोबास, रहनसहन, जीवनशैली सबै फेरिन्छ,’ डा.ओझाले भने, ‘अनि मान्छे त्यसलाई स्वीकार्न नसक्दा पनि गम्भीर बन्दै जान्छ ।’
पाटन अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा.सुरेन्द्र शेरचनका अनुसार त्यसपछिका अवस्थामा मानिस विभिन्न खालका मानसिक समस्या पोस्टट्रमाटिक डिसअर्डर, एड्जस्टमेन्ट डिसअर्डर, एङजाइटी प्यानिक डिसअर्डर र डिप्रेसनसम्मको अवस्थामा पुग्न सक्छन् ।
चिकित्सकहरू यो अवस्थाबाट सामान्यकरणमा फर्किन ५÷६ महिना लाग्ने बताउँछन् । प्रभावकारी मनोविमर्श कार्यक्रम भए ९० प्रतिशतसम्म मानिसलाई डिसअडरको अवस्थामा जानबाट रोक्न सकिने चिकित्सक बताउँछन् ।
यी सबै सामान्य भएपछि पनि चौथो चरणमा पुग्दा काममा फर्किएपछि पनि गुमाएको कुरा, त्रासका क्षण सम्झिँदा मानिस आत्तिइरहन्छ । ‘यस्तो अवस्थामा मनिसले यो प्रकृतिक कुरा हो यसलाई स्विकार्नुको विकल्प छैन भन्ने सोच्नुपर्छ,’ उनले थपे, ‘सकारात्मक सोच, काममा व्यस्त बनाउने, मनोरञ्जनात्मक कुरामा सामेल गराउनेजस्ता कामले मानिसलाई सामान्य अवस्थामा फर्काउन सघाउँछ ।’
पाटन अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा.सुरेन्द्र शेरचनका अनुसार त्यसपछिका अवस्थामा मानिस विभिन्न खालका मानसिक समस्या पोस्टट्रमाटिक डिसअर्डर, एड्जस्टमेन्ट डिसअर्डर, एङजाइटी प्यानिक डिसअर्डर र डिप्रेसनसम्मको अवस्थामा पुग्न सक्छन् । ‘यी अवस्थामा मानिसलाई औषधि उपचार नै चाहिन्छ,’ उनले भने, ‘यो अवस्थासम्म पुग्न नदिन पहिलेका अवस्थाहरू व्यवस्थापन गर्ने, घटना भुल्न कोसिस गर्ने र त्यसको परिणति स्विकार्नेतिर लाग्नुपर्छ ।’
ओझाका अनुसार मानिस घटनालाई स्विकार्न नसकी सामान्य अवस्थामा फर्किन सक्दैन भने मानसिक समस्याको अवस्थामा पुग्छ । व्यक्तिले यस्ता समस्यालाई दुई तरिकाले सामना गर्छन् । ‘तनाव भुल्न रक्सी खाने, चुरोट खाने, नशाहरू लिने नकारात्मक तरिका हो, यसले नयाँ समस्या जन्माउँछ,’ ओझा भन्छन्, ‘सकारात्मक काममा व्यस्त रहने, ध्यान, धर्मअनुसार पूजाआजामा लाग्ने, योग गर्ने, मनोरञ्जन गर्ने सकारात्मक तरिका हुन् ।’
सही ढंगले व्यवस्थान नगर्दा सामान्य खालका मनोसामाजिक समस्या मध्यम र गम्भीर अवस्थामा पुग्ने चिकित्सकहरूको भनाइ छ ।
विद्यार्थीलाई विद्यालय भवन सुरक्षित छन् भन्ने आश्वस्त पारेपछि अतिरिक्त क्रियाकलाप, सामाजिक गतिविधिमा लगाउनु उत्तम विकल्प हो । तीबाहेक शिविर वा सामूहिक रूपमा बसोबास गर्ने महिला, वृद्धवृद्धा र अन्य मानिसलाई समेत उमेरअनुसार संलग्न गराउने कार्यक्रम ल्याउनु जरुरी छ ।
‘व्यक्ति आफैंले पनि घरमा बस्ने, तनाव व्यवस्थापनका लागि नकारात्मक तरिका अपनाउनुभन्दा सकारात्मक तरिका अपनाउनुपर्छ,’ डा.शेरचन भन्छन्, ‘योग, ध्यान, गीत–संगीत सुन्ने, टेलिभिजनमा भूकम्पलाई सम्झाउने दृश्य नहेर्ने, नवनिर्माण एवं पुनर्निर्माणमा सरिक हुनेजस्ता क्रियाकलापले सामान्य जीवनमा फर्काउन सघाउँछ ।’
चिकित्सकहरूले पीडितहरूलाई एकै ठाउँमा राखेर दुःख साटासाट गर्न दिने, मन खोलेर कुरा गर्न दिने र पीडितबाटै समाधान सुझाउने तनाव व्यवस्थापनको अर्को तरीका हो ।
चिकित्सकहरूका अनुसार भूकम्पले लागेका शारीरिक चोटको उपचार तत्काल आवश्यक पर्ने र निको पनि तत्कालै हुन्छ । तर मानसिक रूपमा पारेको असर लामो समयसम्म फरकफरक स्वरुपमा देखिइरहने सम्भावना हुन्छ । त्यसका लागि सामुदायिक स्तरमै बृहत कार्यक्रम आवश्यक पर्छ ।
डा.शेरचनका अनुसार अहिले पनि आत्मबल कमजोर भएका, पुराना मानसिक समस्याका बिरामी गम्भीर खालका मानसिक समस्याको अवस्थामा पुगिसकेका छन् । ‘७० प्रतिशत मान्छेले यसलाई सामान्य रूपमा स्विकारेर अगाडि बढ्छन्, समयक्रमसँगै ठिक पनि हुन्छ,’ ओझाले भने, ‘बाँकीलाई उपचार र परामर्शको खाँचो पर्छ ।’
चिकित्सकहरूका अनुसार अहिले भूकम्प प्रभावित जनसंख्याका आधारमा उपचार र परामर्श आवश्यक पर्ने संख्या निकै ठूलो हुन्छ । ‘सामाजिक मनोविमर्शकर्ता तयार गर्नु र बढी यस्ता समस्या भएका ठाउँमा उपचारको संयन्त्र बनाउनु अबको आवश्यकता हो,’ सिभिल अस्पतालका मानसिक रोग विशेषज्ञ डा.भोगेन्द्र शर्माले भने ।
शर्माका अनुसार अब मनोसामाजिक परामर्श चाहिने ठूलो समुदायको उपचार र परामर्शका लागि विद्यालयका शिक्षक, सेना, पुलिस, सामुदायिक अगुवा, स्वास्थ्यकर्मी सबैलाई विशेष खालको परामर्शको तालिम चाहिन्छ । शेरचनको भनाइमा नेपालमा मनोरोगको अवस्था उत्पन्न भइसकेको अवस्थामा प्रति तीन लाख जनसंख्यामा एक जना मानसिक रोग विशेषज्ञ छन् जुन पर्याप्त हुन्छ । तर परामर्शका लागि आवश्यक पर्ने विशेषज्ञ मनोविदको संख्या १५ मात्रै छ । यस्तो अवस्थामा तालिम दिएर समुदायमा खटिने परामर्शदाता तयार पार्न जरुरी छ ।
चिकित्सकहरूका अनुसार भूकम्पले लागेका शारीरिक चोटको उपचार तत्काल आवश्यक पर्ने र निको पनि तत्कालै हुन्छ । तर मानसिक रूपमा पारेको असर लामो समयसम्म फरकफरक स्वरुपमा देखिइरहने सम्भावना हुन्छ । त्यसका लागि सामुदायिक स्तरमै बृहत कार्यक्रम आवश्यक पर्छ ।
स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखा प्रमुख डा.गुणराज लोहनीले पनि यस्ता समस्याबाट पीडित भएका मानिसलाई परामर्श एवं उपचारका लागि बृहत योजना अघि सारेको छ । उनले मन्त्रालयले मानसिक रोग विशेषज्ञ, यो क्षेत्रमा काम गर्ने संघसंस्थाका सञ्जाल र उच्च स्वास्थ्य अधिकारीसहितको कार्यदल नै बनाइसकेको समेत बताए । उनले यस क्षेत्रमा काम गरिरहेका जिल्लाहरूसँग हाल काम गरिरहेको क्षेत्रसमेत खुल्नेगरी विस्तृत योजना माग्ने काम भइसकेको छ ।
उनका अनुसार मन्त्रालयले सुरुमा मनोचिकित्सा परामर्श एवं उपचारका लागि बृहत निर्देशिका बनाउने, काम गर्ने, प्रभावित क्षेत्रका जिल्लामा उपचार केन्द्र एवं रिह्याब सेन्टरसमेत खोलिने बताए । पहिलो चरणमा बढी प्रभावित गोरखा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र रसुवामा यस्ता सेन्टर स्थापना गरेर ती स्थानमा मनोचिकित्सक, मनोविद् र सामाजिक परामर्शदाता तथा कर्मचारीसहित टिम खटाउने उनले बताए ।
उनका अनुसार उक्त टोलीले स्वास्थ्यकर्मीसहित थुप्रै सामाजिक परामर्शदाता तयार पारेर यस्ता समस्या निराकरणमा सघाउने बताए । ‘मनोसामाजिक समस्याको अवस्थामा पुग्ने ३० देखि ३५ प्रतिशतलाई परामर्शले नै ठिक बनाउन सकिन्छ,’ डा.लोहनीले थपे, ‘५ प्रतिशतलाई गम्भीर खालका मानसिक समस्य पिटिएसटी, डिप्रेसनकै उपचार चाहिन्छ ।’
डा.लोहनीले मानसिक रोगको क्षेत्रमा विशेषज्ञ उपचार सेवा पु¥याइरहेका अस्पताललाई नै विभिन्न जिल्लामा उपचारको जिम्मा दिइने छ ।
-आजको नागरिक दैनिकमा दीपक दाहालले लेखेको खबर छ ।
समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तलको बक्सको बीचमा क्लिक गर्नुहोला ।